नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदाै ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको मुद्दामा अन्तिम फैसला नभएसम्म उनीहरु नेकपा एमालकै सांसदको हैसियतमा रहने सर्वोच्च अदालतले प्रष्ट पारेको छ । मंगलवार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासको दिएको अन्तरिम आदेशको गलत ब्याख्या भएको भन्दै सर्वोच्च स्रोतले उनीहरुलाई नेकपा एकीकृत समाजवादीमा जान पाउँ भनी निवेदन दिएको आधारमा कुनै कारवाही नगर्नूमात्र भनिएको प्रष्ट पारेको छ ।
सर्वोच्चका एक उच्च अधिकारीले भने, ‘पाण्डे र भट्टले नेकपा एसमा जान पाउने र एमालेको दुई सिट घट्यो भन्ने ढंगले समाचार आएपछि श्रीमानहरु अचम्मित हुनुभयो । खासमा उनीहरुले निर्वाचन आयोगमा सनाखत गर्न पाउँ भनेको र अदालतमा मुद्दा दायर गरेको आधारमा सांसद पद जानेगरि कुनै कारवाही नहोस भनेर तत्काललाई आदेश दिएको हो ।’
भोलि फैसलामा उनीहरुले अर्को दल रोज्न दिएको निवेदन र सनाखत सही ठहरेमा यसबीचमै उनीहरुमाथि कारवाही भएर पदमुक्त गरिएको अवस्थामा उनीहरुको हक हनन् हुने भएकाले तत्काल एमालेबाट हुनसक्ने कारवाहीलाई मात्र रोकिएको सर्वोच्चले प्रष्ट पारेको छ ।
ती अधिकारीले भने–उनीहरु दुईजना एमालेकै सांसद हुन्,हिजोको आदेशले उनीहरु नेकपा एकीकृत समाजवादीका सांसद भए भन्ने जसरी प्रचार भयो त्यो होइन । तर एमालेले तत्काल उनीहरुमाथि कुनै कारवाही नगरोस् र त्यो कारवाहीका आधारमा पदमुक्त नहुन् भनिएको हो ।

