नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि सडकमै जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ भन्दै उत्पीडित र पछाडि पारिएका समुदायको हकअधिकारका लागि संविधान संशोधन गर्न जुरूरी रहेको बताए । सडकमा जानुपरे आफ्नो दल र कार्यकर्ता सधै तयार रहेको दाबी गरे । उनले संविधानमा आफूहरुको फरकमत रहेको भन्दै संविधान संशोधनका लागि आफूहरुको संघर्ष जारी रहेको बताए ।
त्यस्तै, प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकारे । ‘व्यवस्था पनि परिवर्तन गर्न संविधानले ढोका खुलै राखिदिएको छ। किनकि यो समाजवादउन्मुख संविधान हो’ उनले भने ‘संविधान संशोधन गर्नका लागि हामी सडकमै जानुपर्ने पनि हुनसक्छ। संविधानले संशोधन सबै ढोकाहरू खुला गरेको छ’ प्रचण्डले भने ।
यस्तै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनबाट देशकै एक नम्बर पार्टी माओवादी केन्द्र बन्ने दाबी गरे । माओवादी केन्द्र विशाल पार्टी भएको भन्दै फेरि जनतातर्फ फर्किनुपर्ने भन्दै अहिले पार्टीलाई रुपान्तरण गर्नेतर्फ सबै नेता तथा कार्यकर्ता समर्पित हुने पनि विश्वास दिलाए ।
उनले भने,‘आज हेर्दा हामी व्यक्तिगत प्रतिष्ठा, स्वार्थको निम्ति बढि लगाव देखियो, पार्टी बनाउँदा भन्दापनि गुट बनाउँदा फाईदा हुन्छ कि भन्ने प्रवृत्तिको विस्तारै विस्तारै विकास भएको छ । यो पनि अरु पार्टीजस्तै बुर्जुवाजस्तै हुने दिशातर्फ गैरहेको बेलामा हामीले महान सहिद र अग्रजलाई सम्झिरहेका छौं, हामी त्यसअनुसारको पार्टी बनाउनको लागि प्रतिबद्धता गर्ने कि नगर्ने ?”

