नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । अधिकांश समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मीनकुमार अर्याल बताउँछन् । विहानैदेखि मौसम बदली रहेको काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । ‘काठमाडौंमा अझै केही दिन मौसममा बदली रहन्छ । शनिबारबाट भने मौसम केही खुल्ने छ,’ उनले भने ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

