नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ भदाै ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् ।
असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।
आचार्यले बुधबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले पहिलो चरणमै मन्त्रीको लाइनमा रहेपनि त्यतिबेला नसमेटिएका तुलसी प्रसाद न्यौपाने लगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री आचार्यलाई पहिलो चरणमा नै न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए ।

