एमालेको विरोध र नाराबाजीका बीच विनियोजन विधेयक पारित

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।

गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । अर्थमन्त्री जनार्दन शर्माले अधयादेमार्फत आएको बजेटलाई सामान्य परिमार्जन गरेर निरन्तरता दिएको बताएका छन् । संसदमा विनियोजन विधेयक २०७८ माथि सुरु भएको छलफलमा कोही पनि सांसदले छलफलमा भाग लिएनन् । तर, सांसद प्रेम सुवालले भने विनियोजन विधेयकमा फरक मत राखेका थिए ।



जसको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश बजेटमा ३ प्रतिशत मात्रै चलाएको बताए । बजेट प्रतिस्थापन विधेयकमा ‘सरकारको साझा न्यूनतम कार्यक्रम र प्राथमिकता समावेश गरेको हो,’ अर्थमन्त्री शर्माले भने, ‘अध्यादेश बजेटमा केही परिमार्जन गरेर निरन्तरता दिएको हो, राजश्व नीतिले मुलभूत रुपमा निरन्तरता दिँदै आन्तरिक उत्पादन प्रवद्र्धनमा थप गर्न सहुलियत दिइएकोछ ।’

उनले देशको अर्थतन्त्रलाई मजबुद तुल्याउन कृषि, उद्योग प्रवद्र्धनका विषयलाई विधेयकले सम्बोधन गरेको बताए । त्यस्तै प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ बहुमतले स्वीकृत गरेको हो ।

आर्थिक विधेयकमाथिको दफावार छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही असोज ७ गतेका लागि छलफलको मिति तोकेका हुन् । यसअघि विनियोजन विधेयकलाई पारित गर्नुपूर्व सांसद प्रेम सुवालले रखेको खर्च कटौतीको प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ७ गते अपराह्न २ः०० बजे बस्नेछ ।

 

सम्बन्धित समाचार