नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।

सत्ता गठबन्धन पाँच दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएको हो।
बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थिति छन्।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बुझिएको छ। मंगलबार दिउँसो मात्र देउवा र प्रचण्डबीच छलफल भएको थियो। देउवा नेतृत्वमा सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकै कारणले गठबन्धन सरकारको आलोचना भइरहेको छ।
माधव नेपाल र उपेन्द्र यादवबीच राजनीतिक दलसम्बन्धी अध्यादेश निक्रिय बनाउने विषयमा विवाद भएपछि त्यसको असर मन्त्रिपरिषद् विस्तारमा परेको बताइन्छ ।

