देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि कांग्रेसमा असन्तुष्टि, पौडेल पक्षले दियो अर्को नाम, को-को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री बनेको ७० दिन नाघ्दासमेत मन्त्रीहरू नियुक्त गर्न नसकेको भन्दै चर्को आलोचना भएपछि शेरबहादुर देउवाले मंगलबार साँझ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूसँग तत्काल केही मन्त्रीहरूको नाम दिन आग्रह गरे । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेशको कारण तत्काल मन्त्रीको नाम दिन नसकेपछि देउवाले परराष्ट्र मन्त्री तत्काल नियुक्त गर्न आग्रह गरे । कांग्रेसले पाउने परराष्ट्रमा देउवाले डा. नारायण खड्कालाई प्रस्ताव गरे । गठबन्धनका नेताहरूले सहमति जनाए । तर यही विषयलाई लिएर कांग्रेसमा भने चर्को असन्तुष्टि देखिएको छ ।

परराष्ट्रमा पौडेल पक्षले दाबी गर्दै आएको थियो । तर देउवाले पार्टीमा सल्लाह नै नगरी खड्काको नाम अघि सारेपछि रामचन्द्र पौडेलले देउवासँग तत्काल असन्तुष्टि जनाएका थिए । पौडेलले सुजता कोइराला या मिनेन्द्र रिजाललाई परराष्ट्रमन्त्री बनाउन चाहेका थिए । हिजो राति नै देउवालाई फोन गरेर परराष्ट्रमा कोइराला या रिजालमध्ये एकलाई पठाउन दवाव दिएका थिए । पौडेलले सरकार सञ्चालनमा आफूहरूको सहयोग चाहिने भए एकलौटि निर्णय नगर्न चेतावनी दिएका थिए ।



कांग्रेसको सरकार भएकोले हरेक निर्णय पार्टीबाट अनुमोदन गराएर मात्र लिनुपर्ने पौडेल पक्षको माग रहेको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री नियुक्तिको विषयलाई लिएर पनि कांग्रेस र गठबन्धनमा विवाद भएपछि देउवाले त्यस उप्रान्त सल्लाह गर्ने वाचा गरेका थिए । तर देउवाले पुरानै तरिका अपनाएपछि पौडेल पक्षले आजै संस्थापनइत्तरको बैठक बोलाएर देउवालाई दवाव दिने तयारी गरेको थियो ।

अन्य मन्त्री छान्ने तयारी
देउवाले दशैं अगाडि कम्तिमा ५ जना मन्त्री थप्न चाहेका थिए । यादव र नेपालबाट सकारात्मक जवाफ नपाएपछि उनले पुनः माओवादी र कांग्रेसबाटै भए पनि पाँच मन्त्री थप्ने तयारी गरेका छन् । तर माओवादीमा पनि मन्त्री छान्न महाभारत भएपछि प्रचण्ड एकैपटक सबै मन्त्रीको नाम दिने भन्दै तत्काल कांग्रेसबाट मात्र मन्त्री नियुक्त गर्न देउवालाई स्वीकृति दिएको बताइन्छ । गठबन्धनकै नेताहरूको आग्रहमा देउवाले कांग्रेसबाट कम्तिमा तीन मन्त्री थप्ने तयारीमा छन् ।

पौडेल पक्षले अन्य मन्त्रीको नाम टुङ्ग्याएको अवस्थामा विहीबार कांग्रेसबाट कम्तिमा ३ जना नेताले मन्त्रीमा शपथ लिनेछन् । देउवा पक्षबाट डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मा लगायतले मन्त्रीका लागि दाबी गरिरहेका छन् ।

यस्तै पौडेल पक्षबाबाट सुजाता कोइराला, दिलेन्द्र बडू, मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । उता, सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा रहेको अवस्थामा प्रम देउवा यिनैमध्येबाट केहीलाई मन्त्री बनाएर सरकार सञ्चालन गर्ने तयारीमा रहेका देखिन्छन् ।।

सम्बन्धित समाचार