नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज (बुधबार) ९०० रुपैयाँले उकालो लागेको छ । सोमबार ३०० रुपैया बढ्दै रु ८९ हजार २०० मा कारोवार भएको सुनको मूल्य आज तोलामा रु ९० हजार १०० मा कारोवार भएको हो ।
त्यस्तै तेजाबी सुन सोमबार रु ८८ हजार ७५० कारोवार भएकोमा आजका लागि भने रु ८९ हजार ६५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी चाँदीको मूल्य मंगलबारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै तोलाको रु १ हजार १६५ मा कारोवार भएको छ ।
केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्य घटबढ हुँदै आएको छ । तोलामा शुक्रबार एकैदिन १४ सय रुपैयाँले घटेर सुन रु ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।