बञ्चरेडाँडाको कथा र सिसडोलबासीको व्यथा

काठमाडाैं महानगरपालिकाले २५ वर्षअगाडि दीर्घकालीन फोहोर व्यवस्थापनका लागि व्यवस्थापनस्थलका रूपमा बञ्चरेडाँडालाई छनोट गरेको थियो । हाल फोहर व्यवस्थापनका लागि उक्त स्थल तयार भइसके पनि तत्कालै फोहोर व्यवस्थापनको काम आरम्भ हुने छाँटकाँट देखिँदैन ।

शहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा निर्माणस्थलको काम सकिसकेको जानकारी दिइसकेको भए पनि दुई हप्ताभन्दा बढी भइसकेको छ । यसअघि फोहोर व्यवस्थापनस्थलको काम छिटो सक्न भन्दै आएको महानगरले अहिले आएर तत्कालै सो स्थानमा फोहोर व्यवस्थापन नगर्ने जनाएको छ ।



पहिला ताकेता गर्ने गरेको महानगरले अहिले किन यस्तो निर्णय गर्यो भन्ने विषयमा जिज्ञासा राख्दा काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले निर्माणको काम पूरा भइनसकेको र स्थानीयबासीका केही महत्वपूर्ण मागहरूका सम्बन्धमा थप छलफल गर्नु पर्ने भएकोले तत्कालै उक्त स्थलमा फोहोर व्यवस्थापन नसकिएको जवाफ दिए । उनले शहरी विकास तथा भवन निर्माण विभागले आफ्नो जिम्मामा रहेको साइट निर्माणको एउटा काम सम्पन्न गरेको र अर्को छिटो सम्पन्न गर्ने तयारी रहेको भन्दै अन्य काम महानगरकोे जिम्मेवारी नरहेको जानकारी दिए ।

दुई हप्ताअगाडि नै पहिलो निर्मणस्थल सम्पन्न गरी फोहोर व्यवस्थापन गर्न सकिने जानकारी गराए पनि फोहर व्यवस्थापनको काम सुरु गर्ने बारेमा महानगरलगायत १७ वटै स्थानीयतहबाट जानकारी नआएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलको भनाइ छ । उनले थपे ‘हामीबाट हुने काम सम्पन्न गरिसकेका छौं । स्थानीयको समन्वय र अन्य व्यवस्थापन मिलाउने काम स्थानीय सरकारको हो । त्यसैले अब फोहोर व्यवस्थापनको काम हुन नसक्नुमा विभाग दोषी छैन । विभागको अबको काम भनेको दोस्रो स्थलको निर्माण कार्य छिटोभन्दा छिटो सक्नु हो ।’ विभागका अनुसार बाधा अड्चन विना काम गर्न पाए अबको ६ महिनाभित्रमा दोस्रो निर्माण स्थलको काम समेत पूरा हुनेछ ।

बञ्चरेडाँडामा दीर्घकालीन स्यानेट्यारी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाखमा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण कार्यको सम्पूर्ण काम गत वैशाखमै सकिनु पर्ने थियो । तर पूर्ण रूपमा काम सकिएको छैन । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु नहुँदा अहिले फोहर व्यवस्थापन गर्दै आइएको सिसडोल क्षेत्र समस्यामा परेको छ र त्यस क्षेत्रमा बसोबास गर्नेहरू दुर्गन्ध र अव्यवस्थाले आक्रान्त बनेका छन् ।

तर सम्बन्धित निकायहरू बेखबर छन् भने सिसडोलबासी प्रताडित छन् । सिसडोल क्षेत्रका बासीहरूलाई त्यहाँबाट आउने दुर्गन्ध सहनु नियति नै बनेको छ । फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुञ्जेल सिसडोलबासीको यो अवस्थामा सुधार हुने लक्षण देखिँदैन ।

विसं २०६२ सालमा सिसडोलमा दुई वर्षको लागि मात्र फोहोर बिर्सजन गर्न सकिने क्षमताको ल्याण्डफिल साइट निर्माण गरिएको थियो । तर त्यहाँ पटक पटक माटोले पुर्दै थुपार्दै अहिलेसम्म नै फोहर बिर्सजन गरिदै आइरहेको छ । छोटो समयका लागि तय गरिएको क्षेत्रमा लामो समयदेखि फोहर बिसर्जन गरिएका कारण त्यस वरिपरिका बस्तिमा जोखिम बढेको छ । फोहरको थुप्रो विष्फोट हुन सक्ने सम्भावना पनि त्यत्तिकै छ । यदि विष्फोट भयो भने सिसडोल नजिकका बस्तीहरू चलेटार, न्यौपाने टोल, बिरुवालगायत सिउँडेनी गाउँहरू त्यसको चपेटामा पर्न सक्नेछन् ।

अहिले हरेक दिन एक हजार २ सय मेट्रिक टन फोहोर उपत्यकाबाट सिसडोलमा बिसर्जन हुने गरेको छ, जसमध्ये ५०० मेट्रिक टन काठमाडौं उपत्यकाबाट मात्रै निस्कने गर्छ । निजी र कामपाको गरी दैनिक २०० गाडीले फोहोर थुपार्न लाने गर्दछन् ।  हाल फोहोर व्यवस्थापन गर्ने गरिएको सिसडोलभन्दा प्रस्तावित बञ्चरेडाँडो ३ किलो मिटर दुरीमा नुवाकोट र घादिङको सीमामा पर्दछ ।

सम्बन्धित समाचार