नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असाेज ।

मलेसियामा बच्चा जन्माई मारेको आरोपमा त्यहाँको प्रहरीले एक नेपाली महिलालाई पक्राउ गरेको छ। आलोर गाजाहका प्रहरी प्रमुख सुप्ट अरशद अबुका अनुसार मलेसियाको मलकास्थित एक कम्पनीको होस्टेलमा बच्चा जन्माएर मारेको पाइएपछि ती महिलालाई पक्राउ गरिएको हो।
कोठाभित्र कालो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा मृत शिशु फेला परेपछि २८ वर्षीय महिलालाई नियन्त्रणमा लिइएको र उनी नेपाली भएको त्यहाँको प्रहरीले जनाएको छ।
तर परिचय खुलाइएको छैन। उनले आफ्ना प्रेमी पनि नेपाली नै रहेको बताएपछि प्रहरीले उनलाई पनि पक्राउ गर्ने तयारी गरेको छ। प्रेमीलाई पक्राउ गरेर नेपालको जिम्मा लगाउने तयारी भएको दुतावास स्रोतले बतायो ।

