नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असाेज ।

उद्योगपति तथा नर्भिक अस्पतालका संचालक व्यवसायी वसन्त चौधरीलाई हृदयघात भएको हल्ला झुटो भएको खुलेको छ । सर्वत्र हल्ला फैलिएपछि चौधरीले आफ्नो स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गरी स्पष्ट पारेका छन्।
स्रोत र परिवारको हवाला दिँदै उनी बिरामी परेको भन्दै सञ्चारमाध्यममा खबर सर्वत्र सार्वजनिक भएपछि उनले यस विषयमा वास्तविकता बताएका हुन्। यसअघि शुक्रबार दिउँसो उनकै परिवारका स्रोत उद्धृत गर्दै उनलाई हृदयाघात भएको दाबीका खबर आएका थिए।
व्यवसायी चौधरीले गत हप्ता मुटुमा असहजता महसुस भएपछि आफ्नै अस्पतालमा एन्जियोग्राफी गराएको र अहिले दुबईस्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीमा समस्या देखिएकाले उपचार गर्न डाक्टरले सल्लाह दिएको जानकारी दिएका छन्।
हिजो साँझ एकाएक चौधरीलाई हृदयघात भएका समाचारहरु बाहिरिएका थिए ।


