कांग्रेसको पालिका अधिवेशन आजदेखि, काठमाडौंको अधिवेशन किन भयो स्थगित ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँरनगर अधिवेशन प्रारम्भ हुँदैछ। कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ-नगर अधिवेशन सुरु भएको छ।

सङ्घीय राजधानी काठमाडौंमा वडा अधिवेशनको अन्तिम मत परिणाम प्राप्त नभएका कारण पालिका अधिवेशन यही असोज १६ गतेका लागि तय गरिएको छ । काठमाडौंको वडा अधिवेशन असोज ५ गते सुरु भएको थियो। एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंका सबै नगर र महानगरको वडा अधिवेशनको मत परिणाम प्राप्त नहुँदा आज पालिका अधिवेशन आरम्भ गर्न नसकिएको जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए।



यी विवाद टुङ्गिन बाँकी

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन। प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलालीमा क्रियाशील सदस्यता विवरण प्राप्त नहुँदा अधिवेशन प्रक्रिया प्रारम्भ गर्न नसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले बताए।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबार बसेको बैठकले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँ अघिसम्म सबै जिल्लामा पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । हिमाली जिल्लामा भने मौसमको प्रभावका कारण पूर्वनिर्धारित कार्यतालिकाअनुसार जिल्लाका सबै अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरेको छ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो। पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ-नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ।

सम्बन्धित समाचार