नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असाेज ।

झण्डै ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम मोरङ जिल्ला अदालतमा आइतबारदेखि सुरु हुँदैछ । सुन तस्करीका भरियामा मानिएका उर्लाबारीका शाक्य हत्या प्रकरणसँगै जोडिएको मुद्धाको बहस हुने मोरंग अदालतका सूचना अधिकृत राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। ७७ जना प्रतिवादी रहेको मुद्दामा पहिलो दिन आइतबार सरकारी वकिलले बहस गर्ने सूचना अधिकारी धमालले बताए।
उनका अनुसार असोज ७ गतेदेखि सुनुवाईका क्रममा रहेको मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच बहस हुनेछ। वादीतर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले गर्ने छन् । उनको नेतृत्वले सुन तस्करीलाई थप पुष्टि गर्ने आधार पेस गर्दै तस्करी एवम् हत्यामा संलग्नलाई कैद सजायको माग दाबीसहितको दलिल इजलासमा प्रस्तुत गर्नेछ।
यसका लागि सरकारका तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आइतबार र सोमबार गरी दुई दिनको समय राखिएको छ। पूर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको सुन तस्करीका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ।
उनको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौँ भित्रिएपछि बेपत्ता बनाइएको थियो। बेपत्ता सुन अझै पनि फेला पर्न सकेको छैन। सो घटनामा गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा थप नयाँ तथ्य खुलेपछि पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका छन्। यद्धपी, हालसम्म मुख्य अभियुक्त गोरेसहित ५५ जना मात्रै पक्राउ परेका छन् । घटनामा जोडिएको अन्य २२ जना फरार रहेका छन्।

