दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी, मन्त्री छान्न बालुवाटारमा बैठक

जनता समाजवादी पार्टी (जसपा) ले दल विभाजनसम्धन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएपछि उक्त अध्यादेश खारेज गर्न सरकार तयार भएको छ । सत्ता गठबन्धनमैं रहेको अर्को दल नेकपा (एकीकृत समाजवादी) विरुद्धको मुद्दामा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गठबन्धनमा दल विभाजन अध्यादेश खारेज गर्ने समजदारी जुटेको हो । यससँगै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धन गृहकार्य गर्न थालेको छ । आज बालुवाटारमा बस्ने बैठकले मन्त्री छनौटमा सामूहिक छलफल गर्ने भएको छ ।

गठबन्धनमा मन्त्रालय भागवण्डामा सहमति जुटिसकेकोले एक दुईदिनभित्र मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले बतायो । सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने छ । यद्यपि लोसपा सरकारमा सहभागी भएको खण्डमा उसले ६ मन्त्रालयमा चित्त बुझाउनुपर्ने छ । माओवादी केन्द्रको अवस्था पनि उस्तै छ । ६ मन्त्रालय र १ राज्य मन्त्री पाउने सहमति भए पनि लोसपा सरकारमा आएमा यसले पनि ५ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था छ ।



यता एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्य, जसपाले ४ मन्त्री र १ राज्यमन्त्री लिने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा आउन आग्रह गरेकोले लोसपा पनि पार्टीबाट निर्णय गराएरै सरकारमा जाने तयारीमा छ । उसले सरकारमा सहभागी हुन प्रदेशमा पनि आफूहरुलाई समावेश गर्नुपर्ने माग राखिरहेको छ । प्रदेश २ मा आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने महत्वाकांक्षी माग लोसपाले राखेकोले ऊ सरकरारमा सहभागी हुने सम्भावना नै नभएको राजपा निकट स्रोत बताउँछ ।

प्रदेश सरकारबारे गठबन्धनको चासो
सत्ता गठबन्धनको आजको बैठकमा प्रदेश सरकारबारे पनि छलफल हुने भएको छ । प्रदेश नं. १ र बागमती प्रदेशमा एमालेको सरकार अल्पमतमा परेकोले त्यहाँ गठबन्धनकै सरकार बनाउने तयारी भैरहेको छ । एकीकृत समाजवादीले दुबै प्रदेशमा मुख्यमन्त्री दाबी गर्दै आएको छ । बागमतीमा राजेन्द्र पाण्डे र प्रदेश एकमा राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारिएको छ ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले क्रमश असोज २४ र २७ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । अल्पमतमा परेकोले उनीहरुले त्यसअगाबै राजीनामा दिन सक्ने देखिन्छ । यद्यपि राजीनामा नदिएको खण्डमा गठबन्धनलाई उनीहरुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बाटो खुल्नेछ । अविश्वासको प्रस्ताव ल्याउने परिस्थिति आएमा भने यी दुबै मुख्यमन्त्रीको पद दशैंपछाडिसम्म लम्बिने देखिन्छ ।

बागमतीमा सभामुखसहित एमालेका ५६ जना सांसद थिए । त्यही आधारमा २ भदौमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमाले विभाजनपछि प्रदेश सभामा १३ सांसद एकीकृत समाजवादीतिर खुलेका छन् । अब प्रदेश सभामा एमाले सांसदको संख्या ४३ छ । कुल एक सय नौजना सांसद रहेको बागमती प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५५ जना सांसदको समर्थन चाहिन्छ । गठबन्धनसँग स्पष्ट बहुमत अर्थात् ५८ सांसद छन् ।

यता प्रदेश १ मा १० जना सांसदले दल त्याग गरेपछि एमालेसँग ४१ सांसद् मात्र रहेका छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक मञ्चका एक र राप्रपाका एकजना सांसद छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग ४६ सांसद छन्, जब कि बहुमतका लागि ४२ सांसद भए पुग्छ । यसरी हेर्दा नौतिकताको राजनीति गर्ने हो भने प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीद्वय आचार्य र शाक्यको पद दशैंअगाडि नै गुम्ने निश्चित छ ।

सम्बन्धित समाचार