नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।

नेकपा एमालेको केन्द्रीय समिति बैठकले यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी बैठकले ७० वर्षे उमेर हद कायमै राख्ने निर्णय गरेको हो ।
बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । आज (आइतबार) नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यस अघि भएको समूहगत छलफलमा नेताहरुले ७० वर्षे उमेर हद हटाउनु पर्ने माग गरेका थिए । तर नेता पौडेलले ७० वर्षे उमेर हद कायमै रहेको बताए ।
विधान संशोधन कार्यदलका संयोजक समेत रहेका पौडेलले ‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ ।’ त्यस्तै अध्यक्ष ओलीले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा जवाफ दिने पौडेलले बताए । प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर, नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । एमालेमा हाल ५ जना उपाध्यक्ष रहने व्यवस्था छ ।

