नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ। काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर अघि अवतरण भएको हो। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज केहीबेर अघि सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएको छ।
सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ। विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।
जहाज फर्किएपछि काठमाडौं विमानस्थलमा सम्भावित संकटलाई ध्यानमा राखी सबै तयारी गरिएको थियो। काठमाडौंको आकाशमा धेरै फन्को लगाएर जहाजको इन्धन कम भएपछि अवतरण गराइएको हो।

