दसैंको मुखमा चट्याङले ४० भेडा मरेपछि किसान चिन्तित

दसैंको खुखैमा चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन्। जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित डाबालेक पाटनमा चट्याङ लागेर ती भेडा मरेका हुन्। चट्याङका कारण १५ भेडा घाइते भएका छन्। गुठीचौर गाउँपालिकाका ४ जना किसानका २ सय भेडा थिए। चट्याङ लागेर नानो भण्डारीका १० वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्।

त्यसैगरी मुनबहादुर भण्डारीका ४ वटा भेडा मरेका छन् भने २ वटा घाइते भएका छन्। त्यस्तै मुनिप्रसाद अधिकारीका १७ वटा मरेका छन् भने ७ वटा घाइते भएका छन्। त्यसैगरी देवीप्रसाद अधिकारीका ९ वटा भेडा मरेका छन् भने ४ वटा घाइते भएको गुठीचौर गाउँपालिका इलाका प्रहरी कार्यालयका इन्चार्ज कमल श्रेष्ठले बताए।

प्रहरीका मुुचुल्का अनुसार साढे ६ लाख बराबरका भेडा मरेका छन्। स्थानीय मुनिप्रसाद अधिकारीले आयस्रोतको माध्यम भेडा मारिएकोमा दुःख लागेको बताए। यहाँका किसानले भेडा बेचेर घरपरिवारका लत्ताकपडा, छोराछोरीको स्कुल खर्च चलाउने गरेका छन्। चट्याङले भेडापालक किसानमाथि बज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरिले बताए।

उनले भने, ‘विपद् कति बेला आउँछ, थाहै हुँदैन। हामीले चाहेर पनि रोक्न सक्दैनौं।’ उनले भेडापालक किसानहरूलाई राहत दिन गाउँपालिकामा छलफल गरिने बताए।

सम्बन्धित समाचार