नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

करिब ३८ सय किलो सुन तस्करी एवं सनम शाक्यको हत्या सम्बन्धी मुद्दामा १४ जना प्रतिवादीको पक्षमा १३ कानुन व्यवसायीले बहस गरेका छन्। सुन तस्करी प्रकरणमा चूडामणि उप्रेती गोरेको समूहले मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि त्यस सम्बन्धी मुद्दामा प्रतिवादी बनाइएकामध्ये १४ जनाको पक्षमा बुधबार कानुन व्यवासायीहरूले बहस गरेका छन्।
१४ जना प्रतिवादीको प्रतिरक्षामा १३ जना कानुन व्यवसायीले बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
उनीहरुले आफ्ना प्रतिवादीले सुन तस्करी र कर्तव्य ज्यान मुद्दामा सफाइ पाउनुपर्ने जिकिर गरेका छन्। उनीहरुले सुन तस्करीमा संलग्न रहेको भनी पुष्टि हुने आधार नभएको र शाक्यको हत्यामा कुनै संलग्नता नभएकाले सफाइ पाउनुपर्ने जिकिर गरेका छन्।
यसअघि उनको विपक्षमा सरकारी वकिलहरुले बहस गरेका थिए ।

