नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
अभिनेत्री रञ्जना शर्मा आमा बन्ने भएकी छन् । शर्माले बुधवार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन् ।
अमेरिकाका आफ्नो प्रेमी निकेश सिलवालसँग दोस्रो विवाह गरेकी शर्माले ‘बेबी बम्प’ सहितको एक तस्वीर सार्वजनिक गरेकी छिन् । पहिलोपटक निर्देशक श्याम भट्टराईसँग २००६ मा विवाह गरेकी शर्माले निकेशसँग अनलाइनको माध्यमबाटै कानुनी विवाह गरेकी हुन् । रञ्जना अमेरिका गएसँगै दुईबीचको सम्बन्ध बिग्रिएपछि ३ वर्ष अगाडी सम्बन्ध विच्छेद भएको हो ।
सम्बन्ध विच्छेद गर्नु भन्दा अगाडी नै निकेशको प्रेममा रहेकी रञ्जनाले अमेरिकामा बसोबास गर्ने आफन्त र चिनजानका फिल्मकर्मीको उपस्थितिमा गत वर्ष विवाह गरेकी हुन् । शर्माले ‘गहना’ टेलिसिरियलबाट अभिनय करिअर सुरु गरेकी थिइन् । त्यस्तै रञ्जनाले ‘कन्यादान’, ‘सलाम छ मायालाई’, ‘विरताको चिनो’, ‘मर्यादा’, ‘मौसम’, ‘बदमास’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।