कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा आज १० स्थानीय तहमा अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशन उद्घाटन भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् ।

काठमाडौं महानगरको अधिवेशन राष्ट्रियसभा गृहमा सुरु भएको हो । आजको अधिवेशनले नगरमा पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि देउवा–सिटौला समूह भर्सेज प्रकाश–गगन समूह भिड्दैछन् । देउवा सिटौला समूहबाट प्रगतिमान रञ्जित सभापतिका लागि चुनावी मैदानमा छन् भने प्रकाशमान–गगनले समूहले निलकाजी शाक्यलाई उम्मेदवार बनाएको छ ।



यसैबीच, काठमाडौं जिल्लाका १ महानगरपालिकासहित ११ स्थानीय तह रहेको संघीय राजधानी काठमाडौंमा १० पालिकाको मात्र आज अधिवेशन हुँदै छ । जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार दक्षिणकाली नगरपालिकाको भने अधिवेशन रोकिएको छ । वडा नम्बर २ को वडा अधिवेशन हुन नसक्दा अधिवेशन रोकिएको आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार पालिकाहरुमा सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको छ । सबैभन्दा ठूलो काठमाडौंं महानगरमा भने निर्वाचननै हुने भएको छ । निर्वाचन हुने पालिकाको हकमा समितिले भोलि साँझसम्म अन्तिम नतिजा दिने तयारी गरेको छ । काक्ष्ग्रेसको महाधिवेश मंसिर ९ गतेबाट काठमाडौंमा हुँदैछ ।

सम्बन्धित समाचार