नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असाेज ।

नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन् । पार्टीसम्वद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खासरूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल शुरू भएको समेत जानकारी दिए । अध्यक्ष दाहालले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’
उनले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिस्टहरू नयाँ एकतामा आउने विश्वास व्यक्त गरे । अवस्था ठीक नदेखेपछि आफूहरूले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि पदको लोभमा नपरेको बताए ।

