एमालेको सूर्य चिन्ह नोकिया फोनजस्तै हराएर जान्छ : झाँक्री

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हराएर जाने चेतावनी दिएकी छन्। उनले विचारविहीन एमाले निर्वाचनपछि पतनको बाटोतर्फ जाने बताइन्।

‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट हराए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भनिन्, ‘क्रान्तिकारी पार्टी ठूला तानाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इराकमा अझै पनि सद्दाम हुसेनको शासन टिक्ने थियो।’



विश्वका डरलाग्दा तानाशाह मुसोलोनीको शासन र अग्ला सालिक समेत ढलेकाले केपी ओलीको तामझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्। उनले दक्षिणपन्थी भासमा पसेर संविधान मास्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने विचारविहीन व्यक्तिहरू मात्रै भएको आरोप लगाइन्।

इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले जनताको विचार र कम्युनिष्ट कार्यदिशा छोडेर हिँड्दा विश्वका अन्य तानशाह ढलेझैँ केपी ओली पनि बालुवाटारबाट बालकोट पुगेको बताइन् । उनले कम्युनिष्ट पार्टी विचार र नीति सिद्धान्तबाट अघि बढ्नुपर्नेमा एमाले पार्टी विचारविहीन भएकाले विद्रोह गरी समाजवादी क्रान्तिमा लागेको बताइन्।

सम्बन्धित समाचार