पेट्रोलियम पदार्थको मूल्य भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।

भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्यसूची नेपाल आयल निगमले पाइसकेको छ । निगमका अनुसार यो सूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने निश्चित छ ।



अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । आईओसीले पठाएको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा निगमलाई प्रतिलिटर पेट्रोलमा १३९.१८ रुपैयाँ, डिजेलमा १२०.०१ रुपैयाँ, मट्टीतेलमा ९३.९४ रुपैयाँ, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनमा ८४.०७ रुपैयाँ, उडानमा प्रयोग हुने हवाई इन्धनमा ७६.४४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रू १ हजार ९६१.८८ लागत पर्ने देखिएको छ ।

निगमले पछिल्लो समय गत भदौ ७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । यसअनुसार प्रतिलिटर पेट्रोलको रू. १३०, डिजेल र मट्टीतेलको रू.११३, आन्तरिक हवाई इन्धनको रू. ८६ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर रू. १ हजार ४५० तोकिएको छ । उल्लिखित मूल्यका आधारमा अहिले निगमलाई प्रतिलिटर पेट्रोलमा ९.१८, डिजेलमा ७.०१ घाटा छ भने मट्टीतेलमा १९.५९, आन्तरिक हवाई इन्धनमा १.९३, बाह्य हवाई इन्धनमा १५.१० रुपैयाँ नाफा छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर ५११.८८ रुपैयाँ नोक्सान भइरहेको निगमको भनाइ छ ।

निगमलाई नाफा भएका मट्टीतेल तथा हवाई इन्धनको माग तुलनात्मक रूपमा कम रहेको र नोक्सानी हुने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको माग अत्यधिक भएका कारण यही मूल्यमा विक्री गर्दा निगमलाई १५ दिनमा मात्रै १ अर्ब ५० करोड ७३ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

सम्बन्धित समाचार