काठमाडौं उपत्यकामा ७२ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं उपत्यकामा १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा गरी ७२ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेको जानकारी दिए ।

काठमाडौं जिल्लामा १८ वर्षमाथिका ७५ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको पूर्ण खोप लगाएको जानकारी उनले दिए ।स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कुल १६ लाखभन्दा बढीले काठमाडौंमा खोप लगाएका छन् । पहिलो मात्रा मात्रै लगाउनेको सङ्ख्या ११ लाख ५३ हजार रहेको छ । सचिव खड्काका अनुसार पूर्ण खोप कभरेज दरको हिसाबले काठमाडौं अहिले बागमती प्रदेशकै दोस्रो बढी खोप लगाउने जिल्ला बनेको छ ।



प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ वर्षमाथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन् । भक्तपुरमा १८ वर्षमाथिका कुल दुई लाख ४६ हजार ८५१ जनामध्ये कुल एक लाख ८६ हजारले पूर्ण खोप लगाएका हुन् । यस्तै तेस्रो बढी खोप लगाउने रसुवा जिल्ला ठहरिएको छ । त्यहाँ १८ वर्षमाथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

सम्बन्धित समाचार