नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

करिब ३८ क्विन्टल सुन तस्करीका साथै मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएका ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको एकल इजलासले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो ।
त्यस्तै सो प्रकरणमा मुछिएका प्रहरीका पूर्व डीआईजी गोविन्दप्रसाद निरौला, तत्कालीन एसएसपी श्यामबहादुर खत्री, डीआईजी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत र प्रजित केसीले सफाइ पाएका छन् । यस्तै सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्यले पनि सफाइ पाएका छन् ।
जन्म कैदको सजाय पाउनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । यस्तै राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ ।
मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइएको मुद्दा यही असोज ७ गतेदेखि सुनुवाइका क्रममा हेदाहेर्दैमा राखिएको थियो। तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले करेन्ट लगाएर यातना दिँदै ०७४ साल फागुन १८ गते उर्लाबारी नगरपालिका–१ मा सनम शाक्यको हत्या गरेको खुलेको थियो।
