नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

सत्ता गठबनधनमा मन्त्रालय वाँडफाँडमा सहमति जुटेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरूमध्ये केहीले मन्त्रीको नाम टुंगो लगाइसकेका छन् भने केहीले आज टुंगो लगाउने भएका छन् । प्रधानमन्त्री देउवाले सम्भव भए आजै र नभए भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।
नेपाली काँग्रेसले ६ मन्त्रालय पाउने भएको छ । त्यसैगरी माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले समान ५,५ मन्त्रालय पाउने भएका छन् । लोसपालाई पनि सरकारमा ल्याउने तयारी भएकोले उनीहरुलाई देउवाले २ मन्त्रालय छुट्याएका छन् । लोसपा सरकारमा आएको खण्डमा जसपालाई चार मन्त्रालय र उपसभामुख दिने सहमति भएको बताइन्छ ।
कुन दलबाट को को बन्दैछन् मन्त्री ?
नेपाली कांग्रेस
सत्तारूढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् । अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन । जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन् । कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा मीनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन् । सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्र
माओवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । जसमध्ये जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । अब तीन मन्त्री र एक राज्यमन्त्री माओवादीले पाउने छ । जसअनुसार देवेन्द्र पौडेल, सुदन किराती, महेश्वर गहतराज र शशी श्रेष्ठ मन्त्री हुने बढी सम्भावना छ । यद्यपि देव गुरूङ र कृष्णबहादुर महराले पनि मन्त्री बनाउन प्रचण्डलाई दवाव दिइरहेका छन् । मन्त्रीको नाम टुंग्याउने जिम्म पार्टीले प्रचण्डलाई दिएकोले मन्त्रीको माओवादीबाट मन्त्री बन्नेको नाम गोप्य नै राखिएको छ ।
नेकपा (एकीकृत समाजवादी)
एकीकृत समाजवादीले पनि सरकारमा जाने नेताहरूको नाम टुंगो लगाएको बताइन्छ । एकीकृत समाजवादीका एक नेताले अध्यक्ष माधव नेपालले सांसदहरूसँग छलफलपछि मन्त्रीको नाम टुंगो लगाइसकेको बताएका छन् । एकीकृत समाजवादी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने बताइएको छ । खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने समाजवादीनिकट स्रोतले बतायो । पार्टीले पदाधिकारीमा ठाउँ नपाएका नेताहरूलाई सरकारमा जाने अवसर दिएको छ ।
जनता समाजवादी पार्टी
जसपाले पनि मन्त्री छान्ने जिम्मेवारी अध्यक्षय उपेन्द्र यादवलाई दिएको छ । पार्टीबाट महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, , डा सुरेन्द्र यादव, प्रदिप यादव, रामसहाय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादवको नाम मन्त्री बन्ने लिस्टमा रहेको बताइएको छ । यस्तै, महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट एकजना मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ । यिनैमध्येबाट ६ जनालाई मन्त्री बनाइने सम्भावना रहेको बताइन्छ ।।

