मुख्यमन्त्री राउतले पाए विश्वासको मत, लोसपा र एमाले विपक्षमा

मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। बुधबार प्रदेश २ को प्रदेश सभामा भएको मतदानमा उनले आवश्यक मत पाएका हुन्। राउतको पक्षमा ७७ मत परेको थियो। त्यस्तै, उनको विपक्षमा २३ मत परेको थियो। मतदानमा १०० जना उपस्थित भएका थिए।

राउतलाई उनको दल जनता समाजवादी पार्टी, कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले सघाएका हुन्। एकीकृत समाजवादीबाहेक अन्य दलहरु सत्ता साझेदारी गरिरहेका छन्। ती दलबीच केन्द्रमा समेत सत्ता गठबन्धन छ।



प्रदेश २ का १०७ सांसदमध्ये अहिले १०४ जना मात्रै छन्। सबैभन्दा ठूलो दल जसपासँग ३९, कांग्रेससँग १९, लोसपासँग १६, एकीकृत समाजवादीसँग १३, माओवादी केन्द्रसँग ८, एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग १ जना सांसद छन्। यसमध्ये लोसपाका १५ र एमालेका ८ जनाले विपक्षमा मत दिएका हुन्।

असोज १३ गते प्रदेश २ को मन्त्रिपरिषद्ले विश्वासको मत लिन असोज २० गतेका लागि अधिवेशन आह्वानको लागि सिफारिस गरेको थियो।

सम्बन्धित समाचार