नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाँदैछ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी र सरकारसँग सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँदिल्ली जान लागेको हो।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सम्बन्ध सुधारका लागि उनीहरुलाई भारत पठाउन लागेका हुन्। प्रतिनिधिमण्डलमा महतसहित नेताहरू उदय शमशेर जबरा र अजय चौरसिया छन्। उनीहरु आज बिहान ११ बजेपछि भारत प्रस्थान गर्ने जबराले जानकारी दिए। भाजपाका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणमा टोली त्यसतर्फ जान लागेको हो।
भ्रमणका क्रममा भाजपा र सरकारका उच्च अधिकारीसँग भेट गरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको सम्बन्ध विकासमा सघाउ पु-याउने गरी आफूहरू भारत भ्रमण जान डा महतले बताए।
नयाँ दिल्ली, लखनउ र बनारसमा हुने छलफलले दुई देशबीच एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पु-याउने उनीहरुको भनाइ छ।

