नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । आज (बिहीबार) प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन शीर्ष नेताहरुको छलफलमा शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो ।
आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारी गरेपनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि आज मन्त्रिपरिषद विस्तार हुन नसकेको बालुवाटार स्रोतले बताएको छ । त्यस्तै सत्ता गठबन्धनको दलबीच शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
यसअघि गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषद्मा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय पाउने प्रारम्भिक सहमति भएको थियो ।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा पाँच मन्त्री र एक राज्यमन्त्री मात्र छन् । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ ।

