नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।
यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो ।
नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय पाउने सहमति भएको छ ।

