आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै

आज बडादशैंको दोस्रो दिन, देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । विहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि नेपालीको महान् पर्व बडा दशैं सुरु भएको हो।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। यो १५ दिनको समयलाई दुर्गा पा पनि भनिन्छ। पूजा कोठा वा दशैं घरमा नवरात्रभर दुर्गा देवीको आरधना गरिन्छ। दुर्गा पक्षको दोस्रो दिन आज ब्रह्मचारिणी नाममा दूर्गा पुजा गरिन्छ। पहिलो दिन शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको थियो। तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ।



आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताउँछन् प्राडा देवमणि भट्टराई। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ। यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड समेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सबैजसो मन्दिर बन्द गरिएको छ । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रुपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

सम्बन्धित समाचार