नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असोज।

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक आगामी असोज २५ गते सोमबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन निरन्तर अवरोध गरिरहेको छ । त्यस्तै बैठकमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभामा पेश गरेको संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमत सांसदले स्वीकृत गरेको छ । उक्त प्रस्तावको विपक्षमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल रहेका थिए ।
यस्तै कार्कीले रेल्वे विधेयक २०७८ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्ताव सभाले बहुमतले अस्वीकृत गर्यो र विधेयक फिर्ताको लागि राष्ट्रिय सभाको सहमतिको लागि प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले सभामुखले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदबारे सुचना टाँस नगरेसम्म संसद अवरुद्ध पार्ने एमालेले बताउँदै आएको छ ।

