नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असाेज ।

भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले आज शुक्रवार भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज दिउँसो विदेश मन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।
दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेश मन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कुटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेश मन्त्रीले सकारात्मक रूपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताएको डा महतले जानकारी दिए ।
त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेश मन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कुटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए ।
भेटमा यसअघि भएको सहमतिअनुसार नेपाललाई कोरोनाविरुद्धको कोभिशिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेश मन्त्री जयशंकरले दिनुभएको पनि डा महतले बताए ।

