नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असाेज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दै देउवाले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोकेका छन् । त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए ।

