नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असाेज ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन् । शनिबार नेकपा एस काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् ।
‘प्रदेश नम्बर एक र बागमती प्रदेशमा अब छिट्टै नै हाम्रो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईंहरूलाई जानकारी गराउन चाहन्छु,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई चुनौती दिँदै आफ्नो पार्टी सरकारमा सामेल भएको उल्लेख गर्दै उनले लुम्बिनी, प्रदेश २ र गण्डकीमा पनि छिट्टै सरकारमा सामेल हुने बताए ।
सत्ता गठबन्धनबीच भएको भागवण्डामा एकीकृत समाजवादीलाई चार मन्त्री र दुई मुख्यमन्त्री दिने सहमति भएको थियो । बागमती र प्रदेश एकमा मुख्यमन्त्रीले दशैं अगाडि नै विश्वासको मत लिनुपर्ने अवस्था छ । अल्पमतमा परेकोले दुबै प्रदेशका मख्यमन्त्रीको पद गुम्ने निश्चित छ ।

