नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असाेज ।

चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् ।
बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।
उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए । नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।
राणाले राजनीतिज्ञसँग वार्गेनिङ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए । चौतर्फी आलेचनापछि प्रधानन्यायाधीश राणाले राजीनामा दिन सुझाव दिएको स्रोतको दाबी छ ।

