शङ्काको भरमा ९ महिना यातना दिएपछि मलाई निर्दोष भनेर छोडियो : द्वन्द्वपीडित न्यौपाने

२०२७ साल असार २३ गते षडानन्द नगरपालिका १२ भोजपुर नेपालेडाँडामा जन्मिएका माधवप्रसाद न्यौपाने एक द्वन्द्वपीडित हुन् । तत्कालीन गलैंचा तथा ऊन विकास समिति (हाल एकीकृत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र) मा २०५५ सालदेखि कार्यालय सहायकका रूपमा कार्यरत न्यौपानेको परिवारमा २०६० साल असोज २७ गते ठूलो बज्रपात पर्यो ।

उनी कार्यरत कार्यालयका कर्मचारी अनिल चौधरीको असोज २७ गते अज्ञात बन्दुकधरीहरूले कार्यालय हाताभित्रै गोली हानी हत्या गरेपछि सो विषयमा बुझ्दै नबुझी शंकाको भरमा उनलाई भैरवनाथ गण ङ गुल्मबाट धुम्बाराही प्रहरीसँग समन्वय गरी ५ दिनसम्म भैरवनाथ गण लगी अनुसन्धानमा राखी आवश्यक परेमा पुनः बोलाउने सर्तमा छोडिदिए । न्यौपानेलाई २०६० साल मंसिर १ गते पुनः कार्यालयबाटै साधा पोशाकमा आएका २ जना व्यक्तिहरू आएर आधा घन्टाको लागि भनेर उनलाई आँखामा पट्टी लगाएर भैरवनाथ पुर्याए ।



उनी आफूलाई आधा घण्टा भनेर लगेर ९ महिना ८ दिनसम्म भैरवनाथ गणमा राखेर चरम शारीरिक तथा मानसिक यातना दिएको बताउँछन् । अनुसन्धानको क्रममा उनलाई ‘माओवादीमा कहिलेदेखि लागेको, तेरा साथीहरूको कहाँ कहाँ छन् ?, किन मारिस चौधरीलाई’ जस्ता प्रश्न सोधेको बताए । तर उनले आफू माओवादी नभएको भन्दै आफ्नो पृष्ठभूमि बताए पनि आफूलाई दिनहूँ यातना दिन नछोडेको बताए । यसै सन्दर्भमा द्वन्द्वपीडित माधवप्रसाद न्यौपानेसँग नवकान्तिपुर डटकमसँग गरेको कुराकानीको सार सङ्क्षेप प्रस्तुत गरिएको छ :

राज्य पक्षद्वारा तपाइलाई कहिले जेल लगियो ?
मलाई २०६० साल असोज २७ गते पहिलो पटक सोधपुछका लागि भन्दै भैरवनाथ गणमा लगियो । त्यहाँ पाँच दिन राखेर निर्दोष भनेर छोड्यो । दोस्रोपल्ट २०६० मङ्सिर १ गते ९ महिना ८ दिन राखेर पुनः निर्दोष मानेर छोडिदियो । ‘तपाई निर्दोष हुनुहुन्छ, हामीलाई सहयोग गर्नुपर्छ’ भन्दै छोड्यो ।

राज्य पक्षले तपाईलाई जेलमा किन राख्यो ?
२०६० साल असोज २७ गते धुम्बाराहीस्थित गलैंचा तथा ऊन विकास समितिमा म कार्यालय सहायकको रूपमा काम गर्थें । त्यस कार्यालयमा कार्यरत अनिल चौधरीको बन्दुकधारी अज्ञात समूहले कार्यालय हाताभित्रै गोली हानी हत्या गरेपछि शंकाको भरमा मलाई कार्यालयबाटै सादा पोशाकमा आएका नेपाली सेनाले धुम्बाराही प्रहरीसँग समन्वय गरी भैरवनाथ गण लगे । मलाई पाँच दिन थुनामा राखेपछि निर्दोष रहेछ भनेर छोडियो तर पुनः ‘केही सोधपुछ गर्नु छ’ भनेर कार्यालयबाटै कार्यालय प्रमुखसँग सोधेर २०६० मङ्सिर १ गते आधा घन्टाको लागि भनेर मलाई आँखामा पट्टी बाँधेर बाँसबारीबाट गुमाउदै भैरवनाथ गण लगियो । मलाई के कारणले फेरि लगियो म अझै अनभिज्ञ नै छु ।

त्यस समयमा तपाईंको कुनै पार्टीमा संलग्नता थियो कि थिएन ?
म त्यस बेला नेकपा एमालेमा थिए । भोजपुर जिल्लाको सम्पर्क मञ्चको सदस्य थिए । कम्युनिस्ट विचारधारा चैं राख्थँे तर म ठूलो पदको मान्छे भने थिइनँ ।

थुनामा रहँदा तपाईलाई यातना दियो कि दिएन ?
यातनाको कुरा गर्ने हो भने मलाई एकदमै डरलाग्दो र त्रासदीपूर्ण यातना दिइयो । थुनामा लग्ने वित्तिकै मलाई लुगा खोल्न लगाएर प्लास्टिकको पाइपले शरीरभरि पिटे, पानीको ड्रममा चोपले, जिब्रोमा करेन्ट लगाए, हिटरमा करेन्ट जोडेर हिटरमाथि पिसाब फेर्न लगाए, लिङ्गमा पनि करेन्ट लगाए । लट्ठीले कुटेर पुरै शरीरमा निल डाम बनाए । बेहोस नभएसम्म यातना दिए । बेहोस भएपछि छोडथे । कहिले होस आयो कहिले बेहोस भएँ थाहा पाउन छोडेँ । ‘माओवादीहरूसँग मिलेर के के गरिस् ? अहिलेसम्म कति जनासँग चन्दा उठाएर मोज गरिस् ? किन चौधरीको हत्या गरिस्’ भन्दै यातना दिन्थे । न त खाना खान दिन्थे, न त पानी नै दिन्थे । केवल यातना मात्र दिन्थे ।

तपाई थुनामा रहँदा तपाईले काम गर्ने कार्यालयबाट कुनै सहयोग भयो कि भएन ?
मलाई कार्यालयबाट एकदम सहयोग भयो । मलाई छोड्नु पर्छ भनेर कार्यालय प्रमुखदेखि लिएर सबै कर्मचारी मन्त्रालय, मानवअधिकार आयोग, भैरवनाथ गण गएर ‘त्यो त्यस्तो मान्छे होइन, छोडिदिनु पर्यो’ भनेर भने । तर, यसमा कोही गम्भीर भएन र म यातनामा बाँचिरहेँ । मेरो घाउको खाटो बस्न लगभग तीन महिना लाग्यो ।

तपाईलाई राज्य पक्षबाट लगिएपछि तपाईको परिवारमा कस्तो समस्या आयो ?
म अझै पनि बिर्सिन सक्दिनँ ती दिन । म थुनामा रहिरहँदा छोराको पिरले गर्दा मेरो बुबाको मृत्यु भयो । आमा पनि निकै बिरामी हुनुभयो । मेरी श्रीमती पनि बिचल्लीमा परिन् । मेरो छोराछोरी सानै थिए, सधैं मेरो पर्खाइमा बस्थे । म मरे–बाँचेको खबरसम्म पनि नपाउँदा मेरो परिवारमा ठूलै बज्रपात आइपर्याे । बरू म मरेको खबर पाएको भए दुई चार दिन रून्थे होला । तर ८–९ महिनासम्म मेरो खबर नपाउँदा परिवारले ठूलो पीडा झेल्नु पर्यो । मेरो बुबाको काजक्रिया गर्नुपर्छ भन्दा पनि मलाई थुनाबाट छोडी दिएन । म फर्केर आएपछि मात्र बुबाको काजक्रिया गरेँ ।

द्वन्द्वपीडितको लागि भनेर सत्य निरूपण तथा मेलमिलाप आयोग खोलेको छ । त्यसमा कुनै निवेदन दिनु भएको छ कि छैन ?
मैले सत्य निरूपण तथा मेलमिलाप आयोगमा, बेपत्ता आयोगमा, मानवअधिकार आयोगमा उजुरी दिएँ । तर, सरकारबाट केही निर्णय आएको छैन भन्छन् । अहिले द्वन्द्वपीडितका लागि भनेर केवल परिचय पत्र मात्र दिएको छ तर यसको कार्यान्वयन पनि भएको छैन ।

यातना दिएपछि तपाई बोल्न सक्नुहुन्थ्यो ?
यातना यति पीडादायक थियो कि बेहोस नभएसम्म यातना दिइरहन्थे । मलाई थुनामा लगेको १५ दिनपछि मात्र अलिअलि बोल्न थालेको थिएँ । बोलेपछि ‘गलैंचा कारखानामा काम गर्ने मान्छे, तँ माओवादी होस् । तैँले मारेको हो कि हैन ?’ भनेर सोध्थे । तर म ‘यो गलैंचा कारखाना होइन हजुर, यो समिति हो । यो श्री ५ को सरकारको स्वामित्वबाट संचालन भएको हो’ भन्दा पनि उनीहरू यातना दिन छोड्दैनथे । म माओवादी होइन, मेरो पृष्ठभूमि बुझ्न सक्नु हुन्छ । म साधारण पदमा काम गर्ने कर्मचारी भने । त्यसपछि चियाको प्लेटजस्तोमा अलिकति खाना दिन्थे । यातनाले गर्दा शरीर दुखेका कारण म त्यो पनि खान सक्दिनथेँ ।

तपाईलाई निर्दोष मानेर थुनामुक्त कहिले गरियो ?
अनिल चौधरीको हत्यारा पक्राउ गरेपछि मलाई निर्दोष भनी थुनामुक्त गरियो । २०६१ साउन ६ गते करिब ९ बजे मेरो आँखामा लगाएको पट्टी खोल्दै ‘तपाईं निर्दोष हुनुहुँदोरहेछ । हामीले पनि आफ्नो ड्युटी पालना गर्नु पर्ने, के गर्ने, यस्तै रहेछ छ जिन्दगी !’ भन्दै गाडीमा हालेर मलाई मेरो निवास आकाशे धारामा राति ११ बजे छोडिदिए । थुनाबाट छुटेर गाडीमा चढेपछि फेरि मेरो आँखामा कालो पट्टी लगाइयो र सुकेधाराको निलो पुल आइपुगेपछि मेरो आँखाबाट पट्टी खोलिदिए ।

घर पुगेपछि मेरा परिवार रून थाले, मेरो आँखाबाट पनि आशुको धारा बगे । त्यसपछि ‘माधव आयो’ भन्ने हल्ला सुनेपछि धेरै कपनबासी मेरा घरमा आए । मेरो अवस्था देखेर उनीहरू पनि स्तब्ध भए । त्यसपछि सादा पोशाकमा आएका सेनाले मलाई ‘सेनालाई सहयोग गर्नुस्’ भन्दै त्यहाँबाट विदा भए । त्यसपछि पनि मैले १ महिनासम्म दैनिक रूपमा काठमाडौँ गणेशस्थान, कमलादीमा रहेको ब्यारेकमा पहिलो १० दिनसम्म, नागपोखरीस्थित व्यारेकमा अर्को १० दिनसम्म र शंखपार्कस्थित ब्यारेकमा अर्को १० दिनसम्म हाजिर हुनुपर्यो ।

अहिले तपाईको स्वास्थ्यमा कुनै समस्या छ कि छैन ?
मेरो स्वास्थ्यमा धेरै समस्या छन् । म २–३ घण्टाभन्दा बढी निदाउन सक्दिन, एकपटक निद्रा खुलेपछि म सुत्न सक्दिनँ । मेरो आँखा एकदम कमजोर भएका छन् । हात खुट्टा पोल्छ, पिसाब रोक्न सक्दिनँ । करेन्ट लगाएको कारण मेरो जिउ झमझमाउने गर्छ । धेरै समस्या छ । उभिएर धेरैबेर बस्न सक्दिनँ । बसेपछि उठ्न गाह्रो हुन्छ । राति सुत्ने बेला पनि हात खुट्टा मालिस गरिदिनुपर्छ ।

अहिले कतै रोजगरीमा हुनुहुन्छ कि आफ्नो व्यवसाय छ ?
यातनाले स्वास्थ्यमा समस्या भएपछि मेरो जागिर छैन । अहिले मेरो मनोबल घट्नुका साथै दैनिक क्रियाकलापमा सन्तुलन बिग्रन्छ । त्यसकारण साधारण जिविकोपार्जन गर्न समेत कठिनाई भएको छ । अहिले मेरो एउटा सानो पसल छ, त्यही चलाएर बस्छु ।

अन्त्यमा, राज्य पक्षलाई के भन्न चाहनु हुन्छ ?
द्वन्द्वपीडितको सही पहिचान गरी राज्यले सेवा सुविधा देओस् । बेपत्ता भएका मानिसहरूको तथ्यांक सार्वजनिक गरियोस् । सोझा साझा मनिसहरूलाई शङ्काको भरमा मात्र पक्राउ नगरियोस् । द्वन्द्वपीडितलाई परिचय पत्र दिनुका साथै राज्यले हामीलाई उचित क्षतिपूर्ति सहित औषधि उपचारको लागि सहयोग गरोस् भन्न चाहन्छु ।

सम्बन्धित समाचार