नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असाेज ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका मन्त्रीहरुलाई क्याबिनेटमा अरुभन्दा असल र चरित्रवान बनेर देखाउन निर्देशन दिएका छन् । उनले बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि काम नगर्न समेत पूर्व जानकारी गराए ।
पार्टीको तर्फबाट शुक्रबार बनेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीलाई बधाई तथा शुभकामना दिने क्रममा नेपालले भने, ‘कुनै पनि मन्त्रीले रक्सी खाएर,मातेर पाँच तारे होटलमा क्लाइन्टसँग कुरो मिलाएको सुन्नु नपरोस्, बरु त्यस्तो चाहना छ भने अहिले नै मन्त्री त्यागे हुन्छ ।’
मदिरापानप्रति निकै आक्रामक उनको भनाइ छ ‘अब भने मौका आयो भन्दै पहिले यति पेग खाइन्थ्यो अब यति खाइन्छ भनेर फिट्टु भएको समाचार सुन्नु नपरोस् ।’
उनले पार्टीसँग सल्लाह गरेर मात्रै योग्यता, क्षमता र कार्यसम्पादनको आधारमा सल्लाहकार, स्वकीय सचिव र राजनीतिक नियुक्ति गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । पार्टीबाट मन्त्री बनेका नेतालाई आज पार्टीकार्यलय बोलाएर नेपालले यस्तो निर्देशन दिएका हुन् ।

