नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उनले बताएका हुन्।
सोमबार निर्माणाधीन विमानस्थलको अवलोकनमा पुगेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गराए। रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि तीन महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराएका थिए।
जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताए। बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उनले बताए।

