नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असाेज ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ। माल्दिभ्सको मालेस्थित फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।
भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो। भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ। नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित सात अंक प्राप्त गरेको छ।
भारत पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा नरहने बताएका छन् । अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताए ।