देशभर सात लाख संगठित सदस्य बनाउने एकीकृत समाजवादीको अभियान

नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरू बनाउने लक्ष्य राखेको छ।

अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ। जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरूमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ।



एमालेकै जस्तो ढाँचा र अवधारणामा बनेको यो पार्टीले संगठित र पार्टी सदस्य गरी दुई प्रकारका सदस्यको व्यवस्था विधानमा गरेको छ। जसअनुसार संगठित सदस्य पार्टीका सक्रिय कार्यकर्ता हुनेछन् भने पार्टी सदस्य समर्थक, मतदाता र सर्वसाधारण हुनेछन्। अपानिमा दाबी गरिएअनुसार एकीकृत समाजवादीले देशभरि ६७ लाख ४३ हजार पार्टी सदस्य बनाउन अभियान सञ्चालन गर्ने छ। पार्टीले संगठित सदस्य र पार्टी सदस्य निर्माणका लागि सबै जनसंगठनहरू, सबै पेशा र व्यवसायका जनता माझ सदस्यता वितरण अभियान प्रभावकारी रूपमा सञ्चालन गर्ने नीति लिएको छ।

‘सदस्यता वितरण गर्दा वर्गीय धरातललाई हेरी, जनसेवाको भावनामा समर्पित, पार्टीप्रति निष्ठा र समर्पण भएका, पार्टीको विचार र नीति प्रति स्पष्ट भएका सबै वर्ग, जाति, भाषा, धर्म, लिंग, वर्ण, भूगोलका बासिन्दालाई समावेश गरिने नीति लिइने,’ अपानिमा उल्लेख छ। एकीकृत समाजवादीले सबै जिल्ला कमिटीहरूलाई बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्न, पालिका तहमा कार्यालय स्थापना गरेर कामलाई प्रभावकारी बनाउन र पार्टी कार्यालयहरूलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

सम्बन्धित समाचार