नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असाेज ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल फर्किने वा नफर्किने भन्नेबारे निश्चित नरहेको प्रतिक्रिया दिएका छन् । नेपाललाई ऐतिहासिकरुपमा साफ च्याम्पियनसिपको फाइनलसम्म पुर्याएका अब्दुल्लाले यसअघि फाइनल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए ।
नेपालको एक मिडियाका कारण आफू नेपाल नफर्किने र साफ च्याम्पियनसिपको फाइनल नै नेपालबाट आफ्नो अन्तिम खेल हुने बताएका अब्दुल्लाले फाइनलपछि फर्किन सक्ने संकेत भने पक्कै दिएका छन् । शनिबार राति माल्दिभ्सको मालेमा भएको फाइनलमा भारतसँग ३–० गोलको नतिजामा पराजित हुँदै नेपालले प्रतियोगिता टुङ्ग्यायो ।
अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएर टच लाइनमा प्रतिबन्धित प्रशिक्षक अब्दुल्लाहले खेलपछि पत्रकारसँग कुरा गर्दै भविष्य अझै अनिश्चित गरेको प्रतिक्रिया दिए । ‘भविष्यको बारेमा थाहा छैन, हेरौं के हुन्छ,’ उनले भने, ‘अहिले मलाई एकदमै आवश्यक कुरा भनेको आराम हो । मलाई धरै आराम चाहिएको छ ।’
पछिल्लो ६ महिनादेखि धेरै पसिना बगाएको बताउँदै अब्दुल्लाहले यो अवधि आफ्ना लागि एकदमै कठिन रहेको सुनाए । ‘कम्तिमा पनि एक–दुई हप्ता आराम गरेर के गर्दा राम्रो हुन्छ भन्ने सोच्छु’ उनले भने, ‘भविष्य के हुन्छ भन्ने विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि के के गर्छ । नेपाली समर्थकका लागि एउटा ठूलो सरप्राइज हुनसक्छ ।’ तर त्यसका लागि समर्थकले प्रतीक्षा गर्नुपर्ने उनले बताए ।