नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार नर्भिकमा भर्ना भएका वैद्यको अस्पताल पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
के भएको हो वैद्यलाई ?
पारिवारिक स्रोतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि वैद्यलाई अस्पताल भर्ना गरिएको हो। वैद्य लामो समयदेखि दमको बिरामी छन्। प्रायः जाडोमा उनको स्वास्थ्यमा समस्या आउने गरे पनि यसपालि भने जाडो सुरु नहुँदै दमले सताएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या भएपछि केही दिनदेखि उनी घरमै अक्सिजनको सहायतामा उपचाररत थिए।

