नवकान्तिपुर संवाददाता
काठमाडौं, २ कात्तिक ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने निश्चित भएपछि बागमतीमा नयाँ बन्ने मुख्यमन्त्रीको नाम पनि लगभग तय भएको छ। नेकपा एमालेका मुख्यमन्त्री शाक्यलाई प्रतिस्थापन गर्न एमालेबाटै विभाजित नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे आउने भएका छन्।
वर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव टेबल गरिसकेकी छन्। प्रदेश सभाको बैठक विहीबार बस्दै छ। सम्भवतः सोही दिन त्यसको टुंगो लाग्नेछ। प्रदेश सभाबाट वर्तमान मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना छैन। शाक्यले विश्वासको मत नपाएपछि यही साता पाण्डे मुख्यमन्त्री बन्ने एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्यले बताए। सत्ता गठबन्धन पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत भएको बताइन्छ । बागमतीमा पाण्डे नै एकीकृत समाजवादीका संसदीय दलका नेता हुन्।
बागमती प्रदेश सभाका ११० सदस्यमध्ये अहिले कायम १०९ जना छन्। शाक्यको पक्षमा एमालेका ४३ जना मात्र छन्। पाण्डेको पक्षमा एकीकृत समाजवादीका १३ जना, नेकपा( माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका तीन र जसपाका एक प्रदेश सभा सदस्य हुनेछन्। उनीहरु यसमा खुलिसकेका छन्। नेमकिपाका दुई र राप्रपा दुई जना भने कतै खुलेका छैनन्।
केन्द्रमा सत्तारुढ गठबन्धनभित्र बागमती प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति यसअघि नै भइसकेको छ।

