श्रीलंका सुपर १२ मा प्रवेश

नामिबिया विजयी

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंका विजयी भएको छ । बुधबार भएको खेलमा आयरल्याण्ड श्रीलंकासँग ७० रनले पराजित हुन पुग्यो । श्रीलंकाको यो लगातार दोस्रो जित हो ।

आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १७१ रन बनाएको थियो । श्रीलंकाका लागि वानिन्दु हसरंगा डी सिल्भाले ७१ रनको अर्धशतकीय पारी खेले भने पाथुम निशान्काले ६१ रन बनाए । त्यस्तै कप्तान डसुन शनका २१ रनमा अविजित रहे । आयरल्याण्डका लागि जोस लिट्टलले ४ विकेट लिए भने मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङको भागमा १ विकेट रह्यो ।



१७२ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड १८.३ ओभरमा अलआउट हुँदै १०१ रनमा समेटियो । आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन बनाए भने कर्टिस क्याम्फरले २४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

श्रीलंका सुपर १२ मा प्रवेश

श्रीलंकाका लागि महेश थिकसानाले ३ विकेट लिए भने लाहिरु कुमारा र चामिका करुनारत्नेको भागमा समान २-२ विकेट रह्यो । जितसँगै पहिलो चरणको समूह ‘ए’ मा रहेको श्रीलंकाले २ खेलमा ४ अंक जोड्दै सुपर १२ मा प्रवेश गरेको छ भने २ खेलमा २ अंक जोडेको आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ । आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायम छ ।

त्यस्तै बुधबार भएको पहिलो खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । नामिबियाको यो टी-ट्वान्टी विश्वकपमा ऐतिहासिक पहिलो जित समेत हो । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र पपुवा न्यु गिनी भिड्दै छन् भने दोस्रो खेलमा स्कटल्याण्ड र ओमान आमने सामने हुनेछन् ।

विश्वकपको पहिलो चरणमा ८ टोली समावेश रहेका छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यी मध्ये शीर्ष चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तान न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता समावेश हुने छन् ।

आयरल्याण्ड

यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज सहित पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा हुनेछन् ।

 

सम्बन्धित समाचार