नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ कार्तिक ।

नेकपा माओवादी केन्द्रको आज (बिहीबार) बसेको स्थायी कमिटीको बैठकले १७५ सदस्यीय सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ३३ वटा विभाग प्रमुखसहितको टिमको टुंगो लगाएको हो ।
डिलाराम आचार्यको संयोकत्वमा सम्पर्क समिति गठन गरिएको माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । त्यस्तै उनले ३३ वटा विभाग तथा यसको जिम्मेवारी तोकिएको बताए । बैठकले पार्टी स्कूलिङ विभागको ईन्चार्च अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुखमा गिरीराजमणि पोखरेललााई जिम्मा दिइएको छ ।
त्यस्तै, विदेश मामिला विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ, प्रचार प्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, संगठन विभागमा जनार्दन शर्मा, अर्थ तथा योजना विभागमा वर्षमान पुन, उद्योग विभागमा बामदेव क्षेत्रीलाई जिम्मेवारी दिएको छ ।
यस्तै, उपभोग हित तथा आपूर्ति विभाग मातृका यादव, खानेपानी तथा सरसफाई विभागमा विनामगर, निर्वाचन विभागमा खिमलाल देवकोटा, प्रादेशिक मामिला विभागमा पर्शुराम तामाङ, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग झक्कुप्रसाद सुवेदी, विज्ञान तथा प्रविधि गणेश शाहलगायतका नेताहरुलाई जिम्मेवारी तोकिएको हो । बैठकले विपद् व्यवस्थपन विभाग गठन गर्न भने बाँकी रहेको जनाएको छ । बैठकमा प्रवक्ता महराले देशभर माओवादीको सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य रहेको बताए ।

