बाढीपहिरो पीडितको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावितलाई उचित राहत र क्षतिपूर्ति दिने बताएका छन् । आज (बिहीबार) बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा कर्णाली पुगेका देउवाले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सरकारले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति दिने बताएका हुन् ।

देउवाले क्षतिको अनुगमनपछि राहत दिने बताएका छन् । प्रधानमन्त्री देउवाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलगायत विभागीय मन्त्रीहरूसँग समेत छलफल गर्दै प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी लिएका थिए ।



बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश गएका देउवाले सुर्खेतमा करिव आधा घण्टा बिताएका थिए । देउवा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश जान लागेका हुन् । प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले कांग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत सहभागी हुने जनाएको छ ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले यसअघि नै उद्धार, राहत र पुनस्र्थापनामा सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री देउवा भोलिमात्र काठमाडौं फर्कने कार्यतालिका छ ।

सम्बन्धित समाचार