नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कात्तिक ।

नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ। घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्तालाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पक्राउ परेकाहरूलाई कानून बमोजिम कारबाही गरिने बताएका छन्। उनले एक राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना भएको संज्ञा दिएका छन्।
दुई दिन भएको वर्षामा ढलबाट पानीको निकास हुन नसकेपछि जनमत पार्टीका नेता कार्यकर्ताले गुण्डा शैलीमा नेपाल खानेपानी कार्यालय जनकपुरधामका प्रमुख कुशवाहालाई कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।
लाठी, भाटासहित कार्यालय पुगेका जनमतका दर्जनौँ कार्यकर्ताले प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट तानेर बाहिर ल्याई कुटपीट गर्दै नगर परिक्रमा गराएका थिए। उनीहरूले कुशवाहाको कपडा च्यात्नुका साथै नालाको हिलो दलेर अर्धनग्न बनाएर कुटपिट गर्दै घुमाएको प्रत्यक्षदर्शीले बताए।
खानेपानी कार्यालयका एक कर्मचारीले जनमतका कार्यकर्ता बाँसको चिर्पट, लाठीसहित पूर्वतयारी गरेरै आएर एकाएक यस्तो घटना गरेको बताए। कार्यालयका अन्य कर्मचारीलाई समेत उनीहरूले कुटपिट गरेका थिए ।


