नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा बंगलादेश र स्कटल्याण्ड विजयी भएका छन् । हिजो भएको पहिलो खेलमा पपुवा न्यू गिनी (पीएनजी) बंगलादेशसँग ८४ रनले पराजित भयो भने दोस्रो खेलमा ओमान स्कटल्याण्डसँग ८ विकेटले पराजित हुन पुग्यो ।
जितसँगै दुवै टोली सुपर १२ मा प्रवेश गरेका छन् । अल अमेरट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो । बंगलादेशका लागि कप्तम महमुदउल्लाहले ५० रनको अर्धशतकीय पारी खेले भने शकिब अल हसनले ४६ रन बनाए । त्यस्तै लिटोन दास २९ रन बनाई आउट भए भने आफिफ होसेन २१ तथा मोहमद सैफुदीन १९ रनमा अविजित रहे । पीएनजीका लागि डामिन राभु, काबुआ मोरिया र असाद भालाले समान २-२ विकेट लिए ।
१८२ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजी १९.३ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटियो । पीएनजीका लागि किप्लिन डोरिगाले ४६ रन बनाए भने चाड सोपेरले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत छुन सकेनन् । बंगलादेशका लागि शकिब अल हसनले ४ विकेट लिए भने मोहमद सैफुदीन र ताक्सिन अहमेदको भागमा समान २-२ विकेट रह्यो ।
जितसँगै बंगलादेश ३ खेलमा ४ अंक जोड्दै पहिलो चरणको ‘बी’ को दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगेको छ भने लगातार तेस्रो हार व्यहोरेको पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यस्तै बिहीबार भएको अर्को खेलमा स्कटल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक सुपर १२ मा प्रवेश गरेको छ । अल अमेरट मैदानमा मिनिस्ट्री ट्रफ १ मा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन बनाए भने जिशन मक्सुदले ३४ रन जोडे । त्यस्तै मोहमद नादिमले २५ रन बनाए । स्कटल्याण्डका लागि जोस डाभीले ३ विकेट लिए भने साफ्यान शारिफ र माइकल लीस्कको भागमा समान २-२ विकेट रह्यो ।
१२३ रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । स्कटल्याण्डको लागि कप्तान केली कोयट्जरले ४१ रन बनाए भने म्याथ्यु क्रस २६ र रिची बेरिङटन ३७ रनमा अविजित रहे । यस्तै जर्ज मुन्सेले २० रन जोडे । ओमानका लागि खावर अली र फायज बुटले समान १-१ विकेट लिए । जितसँगै स्कटल्याण्ड ३ खेलमा ६ अंक जोड्दै पहिलो चरणको समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै सुपर १२ मा प्रवेश गरेको छ भने ३ खेलमा २ अंक जोडेको ओमान प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नामिबिया भिड्दै छन् भने दोस्रो खेलमा नेदरल्यान्ड्स र श्रीलंका आमने सामने हुँदैछन् ।
विश्वकपको पहिलो चरणमा ८ टोली समावेश रहेका छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यी मध्ये शीर्ष चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् । सुपर-१२ को समूह २ मा भारत र पाकिस्तान न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणको समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता समावेश हुने छन् ।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज सहित पहिलो चरणको समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता यस समूहमा हुनेछन् ।