नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।

प्रदेश १ को प्रदेश सभाको बैठकले मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि असोज २५ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो । बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए ।
भदौ १ गते मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् । कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन्। गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।
गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। विश्वासको मत नलिए अविश्वासको प्रस्ताव दर्ता गर्ने चेतावनी दिइसकेको गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।

